काठमाडौं - एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

एसियन गेम्स छनोट अन्तर्गत मलेसियाको बायोमास ओभलमा जारी दोस्रो खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो।

इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्दै महत्वपूर्ण जित हासिल गरेको हो।

नेपालकी कप्तान इन्दु बर्माले अविजित ४२ रनको योगदान गरिन् । सोनी पाख्रिनले २९, कविता कुँवरले १४ र सीता रानामगरले अविजित १३ रन जोडे । 

इन्डोनेसियाका नी एरियानी र नी मेड पुत्री सुवान्देवीले समान दुई विकेट लिए । डारा परमिथा र साङ मेप्रियानीले समान एक विकेट हात पारे ।    

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रनको योगफल तयार पार्‍यो । 

इन्डोनेसियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् । उनले ६२ बलमा तीन चौका प्रहार गरिन् । नी लुह देवीले २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन जोडे ।

तेस्रो विकेटका लागि सकरिनी र देवीले ६५ रनको साझेदारी गरेका थिए । नेपालकी मनिषा उपाध्यायले दुई विकेट लिइन् । रिया शर्माको नाममा एक विकेट रह्यो । 

जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्यो । दुवै खेलमा पराजित इन्डोनेसिया भने अंकविहीन रहँदै बाहिरिएको छ । 

पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको थियो । इन्डोनेसिया चीनसँग तीन विकेटले पराजित भएको थियो । 

सेमिफाइनलमा नेपालले मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा थाइल्यान्ड र चीन भिड्ने छन् ।