सरकारलाई मेयर्स फोरमको चेतावनी : विद्यालयमा आइतबारे बिदा फिर्ता नलिए कानुनी प्रक्रियामा जान्छौँ
काठमाडौं - काठमाडौं उपत्यकाका स्थानीय तहहरूले विद्यालय सञ्चालनको सन्दर्भमा सरकारले संविधानविपरीत आइतबार बिदा दिने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको उपत्यका मेयर्स फोरमको बैठकले केन्द्र सरकारले संविधानविपरीत आइतबार विद्यालय बन्द गर्न लगाएको भन्दै असन्तुष्टि जनाएको हो।
फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले केन्द्रको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताए।
उनले भने- 'अप्रत्यासित रूपमा नेपाल सरकारको तर्फबाट आइतबार पनि बिदा गर्ने भन्दाखेरी पाठ्य पुस्तक अध्ययन अध्यापन लगभग १९० दिन पनि नहुने भयो। यसो हुनाले नेपाल सरकारलाई यसमा पुनर्विचारका लागि अनुरोध गर्ने निर्णय भएको छ।'
उनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिए।
उनले थप भने- 'नेपाल सरकारले निर्णय गरेको हुनाले यसमा सहजीकरणको निमित्त उपाय खोज्ने र कथम कदाचित त्यो नभएको अवस्थामा कानूनीरूपमा पनि यसको व्यवस्थापनको लागि अग्रसर हुने भन्ने बैठकको निर्णय छ।'
शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २ सय २० दिन सञ्चालन हुनुपर्ने व्यवस्था छ। तर सरकारले आइतबार बिदा दिने निर्णय गर्दा अध्ययन-अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको अध्यक्ष महर्जनले बताए। सरकारको निर्णयले विद्यालयहरू १ सय ९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था देखिएको उनको भनाइ थियो ।
देशका धेरै स्थानीय तहले केन्द्र सरकारको निर्णयका बाबजुद पनि आईतबार विद्यालय सञ्चालन गरिरहेको छन्। उपत्यकाका पालिकाले किन तत्काल निर्णय लिन सकेनन् भन्ने प्रश्नमा महर्जनले कानुनी जटिलता रहेको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस