काठमाडौं  - नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले नतिजा आएको पाँच महिनासम्म पनि ट्रान्सक्रिप्ट पाएका छैनन् । परीक्षा नियन्त्रण कार्यालयको सफ्टवेयरले काम नगरेपछि समस्या भएको हो ।

विश्वविद्यालयले ०७६ जेठमा सञ्चालन गरेको उत्तरमध्यमा परीक्षाको नतिजा भदौमा सार्वजनिक गरेको थियो । नतिजा आएपछि ट्रान्सक्रिप्टका लागि आवेदन दिए पनि अहिलेसम्म पाएका छैनन् । ट्रान्सक्रिप्ट नहुँदा फरक विश्वविद्यालयमा माथिल्लो तहमा अध्ययन गर्न चाहने, विदेश जाने तथा रोजगारीमा समस्या भएको छ ।

काभ्रेका सीताराम कोइरालाले गत भदौमा वाल्मीकि विद्यापीठबाट उत्तरमध्यमा ९प्रमाणपत्र तहसरह० उत्तीर्ण गरेका थिए । अध्ययनका लागि विदेश जाने तयारी गरेका उनी त्यसबाट वञ्चित मात्र भएनन्, माथिल्लो तह अध्ययन गर्नसमेत पाएनन् । ट्रान्सक्रिप्टका लागि फोन गर्दा उल्टै प्रतिप्रश्न सुन्नुपर्ने उनको गुनासो छ ।

‘कहिले सफ्टवेयर आएको छैन, कहिले सर आउनुभएको छैन, कहिले किन हतार गरेको भन्दै उल्टै प्रश्न गर्छन्,’ उनले भने, ‘मैले जापानका लागि तयारी गरेको थिएँ । तर, ट्रान्सक्रिप्ट नहुँदा आवेदन दिन पाइनँ, एक वर्षजति खेर गयो, नेपालकै अरू विश्वविद्यालयमा पढ्न पनि समस्या भयो ।’

नयाँपत्रिका दैनिकबाट