काठमाडौं - नेपाल एलपी ग्यास उद्योग संघले खाली सिलिण्डरको मूल्य २ हजार १ सय रुपैयाँ तोकेको छ ।

संघको शुक्रबार भएको साधारणसभाले असोज २८ गतेदेखि लागु हुने गरी प्रतिसिलिण्डर उक्त मूल्य तोक्ने निर्णय गरेको हो । यसअघि संघले बागमति प्रदेशका लागि मात्र सोही मूल्य तोकेको थियो ।

अब दुर्गम जिल्लाबाहेक देशैभर सोही मूल्यमा मात्र उद्योगले बिक्री गर्न पाउने भएका छन्। बिक्रेताहरुले ग्यासको ब्राण्ड अनुसार जथाभावी मूल्य लिन थालेपछि संघले धरौटी रकममा एकरुपता कायम गरेको हो।

संघले ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई आग्रह पनि गरेको छ । धरौटी रसिद नलिएका सिलिन्डरको दायित्व उद्योगले नलिने जारी सूचनामा उल्लेख छ ।