झापा - लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले कोशी प्रदेशअन्तर्गत झापाको बुधवारेमा आफ्नो ७७औँ शाखा सञ्चालनमा ल्याएको छ। ग्राहकलाई जीवन बीमा सेवा थप सहज, सरल र पहुँचयोग्य बनाउने उद्देश्यले कम्पनीले बुधवारेमा नयाँ उपशाखा स्थापना गरी सेवा सुरु गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले बुधबारेस्थित उक्त उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख स्वर्णलाल कर्ण, शाखा प्रमुख उमेश सिटौला, बिर्तामोड शाखा प्रमुख ज्योति कु. पौडेललगायत कम्पनीका प्रतिनिधि तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

बुधबारेमा नयाँ उपशाखा सञ्चालनमा आएसँगै एलआईसी नेपालको शाखा तथा उपशाखा कार्यालयको कुल सङ्ख्या ७७ पुगेको छ। कम्पनीले चालु आर्थिक वर्षभित्र थप पाँचवटा उपशाखा स्थापना गरी सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ। साथै, ग्राहकको आवश्यकता र व्यावसायिक सम्भाव्यतालाई मध्यनजर गर्दै आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा तथा उपशाखा विस्तार गर्दै लैजाने कम्पनीको योजना छ।

कम्पनीले विभिन्न उमेर समूह तथा आवश्यकता भएका ग्राहकलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी जीवन बीमासहित २० प्रकारका बीमा योजना सञ्चालनमा ल्याएको छ। यी योजनामार्फत ग्राहकलाई आफ्नो आर्थिक अवस्था र आवश्यकताअनुसार जीवन बीमा सेवा छनोट गर्ने अवसर उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

बुधवारेमा नयाँ उपशाखा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले जीवन बीमासम्बन्धी सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय व्यक्ति तथा व्यवसायलाई सम्भावित आर्थिक जोखिमविरुद्ध वित्तीय सुरक्षा प्रदान गर्नुका साथै बीमाप्रतिको जनचेतना अभिवृद्धि र आर्थिक विकासमा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ।

ग्राहक सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढेको एलआईसी नेपालले आगामी दिनमा पनि प्रभावकारी, सहज र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।