काठमाडौं - नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २३१ जनाको केन्द्रीय समिति घोषणा गरेको छ। पदाधिकारी थाती राखेर वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । 

केन्द्रीय कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने बताइएको छ। ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा केन्द्रीय कमिटी बैठक बसेर त्यहीँबाट पदाधिकारी चयन गर्ने सहमति भएको हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिए ।

नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । वाईसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि माओवादी केन्द्रको सोमबारको स्थायी कमिटी बैठकले पदाधिकारी छान्ने जिम्मा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।