काठमाडौं- सहकारी ठगीमा संसदको सार्वजनिक लेखासमितिका सभापति एवं नेकपा एमालेका नेता ऋषिकेश पोखरेलसमेत मुछिएका छन् ।मोरङको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा सांसद पोखरेल मुछिएका हुन् । धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उक्त सहकारीमा करिब १२ करोड रुपैयाँ अपचलन भएको खुलासा भएको छ ।१८ करोड ५१ लाख रुपैयाँ कूल पूँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको बताइएको छ । यो सहकारीका संचाकलले ऋण लिन आएका सदस्यको सम्पत्ति अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको भेटिएको छ ।शम्भुप्रसाद रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ ।

सो रकम सहकारीका अध्यक्षले मनोमानी ढंगले प्रयोग गरेको पूर्वसञ्चालकहरुको आरोप छ । सार्वजनिक लेखासमितिका सभापति पोख्रेलकी श्रीमती अञ्जला कोइराला पनि सो सहकारीको सञ्चालक थिइन् ।तर, पछिल्लो समय उनले छाडेको बताइएको छ । सहकारीले अन्य बैंकबाट लिएको ऋण नतिरेका कारण कोइराला अहिले कालोसूचीमा रहेको खुलेको छ । कोइराला सहकारीको सञ्चालकमा देखाइएकी सदस्य मात्रै हुन् । तर सम्पूर्ण कारोबार अध्यक्ष शम्शुप्रसाद रौनियारले र उनका पति सांसद पोखरेलबीचको सल्लाहमा हुने गरेको स्रोत बताउँछ ।

पोखरेलकी पत्नी अञ्जला कोइराला शिक्षण पेसामा आबद्ध रहेको बताइएको छ । अञ्जला सहकारी स्थापनादेखि नै जोडिएकी हुन् । २०७५ सालमा जारी भएको सहकारी नियमावलीले संचालक बस्न रोकेपछि उनले राजीनामा दिएकी थिइन् ।तर, उनको राजीनामा स्वीकृत भएन । २०७८ सालसम्म नक्कली हस्ताक्षर प्रयोग गरेको उनको दाबी छ । सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष रौनियार सहकारीको कार्यालय बन्द गरेर हिँडेका छन् ।

१८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । सहकारीबाट ठगिएकाहरु न्याय माग्दै प्रदेश सहकारी रजिष्ट्रार कार्यालय लगायतका निकायमा पुग्न थालेका छन् ।नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै सांसद पोखरेलको नामसमेत चर्चामा आएको छ ।