काठमाडौं - सरकारले आज चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ ।

हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज आज अपरान्ह चीन पठाउन लागिएको हो ।

स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले  जानकारी दिनुभयो ।

  चीनको वुहानमा रहेका नेपाली लिन आज अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ । उक्त जहाज नेपाली लिएर भोलि बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । 

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । 

बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ ।

चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ ।

सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।