काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बुधबार अपरान्ह अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । करीब सवा घण्टा भएकाे अध्यक्षद्वयको भेटमा पछिल्ला पार्टीमा देखिएका आन्तरिक विवादका सम्बन्धमा छलफल भएको स्रोतले बताएको छ । तर, छलफलले कुनै निष्कर्ष निकालेको छैन । आजको भेटले दुई अध्यक्षबीच संवाद सुरु भएको रुपमा हेरिएको छ ।

यसअघि अध्यक्षद्वयकाे मंसिर २० गते भेटवार्ता भएको थियो । जुन कात्तिक २५ गतेपछिको पहिलो संवाद थियो ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई लक्षित गर्दै १९ पृष्ठ लामो एकल प्रतिवेदन प्रस्तुत गरे पछि ओलीले मंसिर १३ गते बसेको सचिवालय बैठकमा ३८ पृष्ठ लामो जवाफी प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपना आएको छ।

नेकपा स्थायी कमिटीको बैठक २८ मंसिरमा बस्दैछ । यसअघि २१ मंसिरमा बसेको बैठकमा ओली उपस्थित भएका थिएनन् । बैठकमा एक पत्र पठाउँदै ओलीले प्रचण्डको प्रस्तावमाथि औपचारिक रुपमा छलफल गर्न नसकिने बताएका थिए । उक्त दिन अध्यक्षद्वयकै प्रतिवेदन सदस्यहरुलाई बाँडिएको थियो ।