काठमाडौं - पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँमाथि भारतमा कोरोना महामारी फैलाउन षडयन्त्र गरेको आरोप लागेको छ । अध्यक्ष मियाँ संक्रमण फैलाउने संदिग्ध गतिविधीमा संलग्न रहेको भन्दै दर्जनौँ भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षाकर्मीको हवाला दिएर समाचार प्रशारण गरेका छन् ।
बिहार पश्चिम चम्पारणका जिल्ला पदाधिकारी कुन्दन कुमारले अप्रिल ७ तारिखमा पर्सासँग सीमा जोडिएका बिहारका ७ जिल्लाका प्रमुख र सुरक्षा अधिकारीलाई एक पत्र लेखी हातहतियार र जाली नोटको कारोवारमा समेत संलग्न रहेको अध्यक्ष मुखियाले कोरोना संक्रमितहरुलाई भारत प्रवेश गराउने तयारी गरेको उल्लेख गरेका थिए ।
'जगरनाथपुर ग्राम, थाना सेढवा, जिल्ला पर्साका जालिम मुखियाले ४०–५० कोरोना संदिग्धलाई भारतमा पठाएर कोरोना महामारी फैलाउने षडयन्त्र गरिरहेको सूचना छ' पत्रमा भनिएको छ । सोहि पत्रको आधारमा अहिले भारतीय सरकारले रक्सौलसँग जोडिएको नाकामा थप सुरक्षाकर्मी परिचालन गरेको छ।
यस विषयमा गाउँपालिका अध्यक्ष मियाँले भने आफ्नो चरित्रहत्याको षडयन्त्र भएको बताएका छन् । ‘नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध छ। सबै खबर निराधार छन्। यस विषयमा गृह मन्त्रालय र स्थानीय सुरक्षा निकायलाई जानकारी गराएको छु’ मियाँले भने ।

.gif)


