काठमाडौं - रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बुधबार बिहान ६ बजेसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको छ।
काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ।
फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको छ।
पहिचानका क्रममा मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१८ वटा डीएनए नमुना संकलन गरिएको छ।
यसैबीच, पहिचान हुन नसकेका १ हजार ४४० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
बाढीपछि बेपत्ता भएका ४ हजार ७२० जनाको खोजी कार्य अझै जारी छ।
यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल १ हजार १७९ जनालाई राखिएको प्रहरीले जनाएको छ।

.gif)


