काठमाडौं - काठमाडौं महानगरपालिकाले आज र भोलि ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुनः सुरु हुन लागेको हो। 

यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो । तर, खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा आज र भोलि खोप लगाउन लागिएको हो । 

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार वीर अस्पताल, महाराजगञ्जमा रहेको शिक्षण अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा गएर खोप लगाउन सकिनेछ । 

आज देखि चल्ने खोप कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिसहित यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकाहरू, स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमितको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले पनि खोप पाउनेछन् । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।