काठमाडौं - हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि ठूलो भीड लागेको छ। पशुपति क्षेत्रमा दर्शनार्थीको लाम बढेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार तीजका अवसरमा पशुपति क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको छ ।

उनका अनुसार बिहान ३ः१५ बजेदेखि मन्दिरका चारवटै ढोका खुला गरिएको थियो । बिहान ७ बजेसम्म करिब ९ हजार भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी अहिले पनि लाइनमा रहेका छन्।

भक्तजनको सहज दर्शन तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरीले दर्शन सहजीकरण, सूचना प्रवाह, खोज तथा उद्धार, परिवार पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायत सेवा सञ्चालन गरिरहेको छ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधिको प्रयोग गरिएको छ। साथै सादा पोसाकका प्रहरी, महिला प्रहरी, पुरुष प्रहरी तथा विपद् उद्धार टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

पशुपति क्षेत्रमा दुई सिफ्टमा सुरक्षा व्यवस्थापन गरिएको छ। त्यसका लागि २ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने प्रत्येक सिफ्टमा करिब १ हजार २५० प्रहरी खटिएका छन्।