काठमाडौं - विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा त्यसको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनवटा समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री ढकालको अध्यक्षतामा बसेको विभिन्न मन्त्रालयका सचिव तथा स्वास्थ्य मन्‍त्रालयका अधिकारीको बैठकले कोरोना भाइरस रोकथामका लागि समिति गठन गरेको हो । समितिका सदस्यमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख रहनेछन् । उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामको लागि विभिन्न निकायले गरिरहेका कामको अनुगमन गर्नेछ ।

समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्य अन्तर्गतका सवै परिषदका अध्यक्ष पदेन सदस्य तोकिएको छ । यसैबीच नेपालमा कोरोना भाईरसको प्रभाव हुन नदिन सरकारले विमानस्थलबाटै संक्रमणको आशंका गरिएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको छ ।


कोरोना भाईरस संक्रमण भएका व्यक्तिको परिक्षण र उपचारका लागि पाँचवटा अस्पताल तोकिसकिएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिए ।