काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा चार वटा रिट दर्ता भएका छन् । ओलीको शपथ बदर गरेर दोस्रो पटक शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेका उक्त रिटमाथि आज (मंगलबार) सुनुवाइ हुन लागेको हो । 

संसदको ठूलो दलको हैसियतमा यही वैशाख ३१ गते शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भनेका थिए । 

ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेकाले ३१ गतेको शपथ बदर गरेर अर्को पटक शपथ लिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले आइतवार सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त रिटमाथि सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो । रिटमा प्रधानमन्त्री ओलीले वैशाख ३१ गते लिएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रो पटक शपथ ग्रहण गर्नू र गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश माग गरिएको छ ।