हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण सुरु हुने बताएका छन् । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौँ सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणको लागि बोलपत्र आह्वान गरिने बताए ।
मुख्यमन्त्री पौडेलले काठमाडौँसँग जोडिने हेटौँडाका सबै मार्गहरु ६ महिनाभित्र स्तरोन्नती र आरामदायी हुने जानकारी दिए । उनले हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए । प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने उनले जानकारी गराए ।
प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागेको कारण भौतिक निर्माणमा ढिलाइ भएकोले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए ।

.gif)


