प्रतिनिधिसभा निर्वाचन : मौन अवधि सुरु, के गर्न हुँदैन ?
काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टाअघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ ।
सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म निर्वाचन आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । यो अवधिमा राजनीतिक दल, उमेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।
आयोगले फागुन ४ देखि १८ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो ।
मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उमेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रूपमा नै मतदानअघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।
मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धित दललाई आयोगले निर्देश गरेको छ ।
यो अवधिमा राजनीतिक दल तथा उमेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारबाही हुने चेतावनी दिए ।
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस