काठमाडौं - माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिर्वतन भएको छ । निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने भनेपछि नयाँ नामसहित दुवैले पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । 

नेपाल पक्षले यसअघि राखेको नेकपा एमाले (समाजवादी)नाममा एमाले हटाएर पार्टीको नयाँ नाम नेकपा एकीकृत समाजवादी राखेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। नेपालको पार्टीको चुनाव चिह्न भने अझै टुंगो लागेको छैन ।

यस्तै, ठाकुर पक्षले यसअघि राखेको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)बाट परिवर्तन गरेर लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए ।

उनीहरूले केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको निवेदन दिएका हुन्।