काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संशोधित विधानमार्फत पार्टी सभापतिको अधिकार थप स्पष्ट र बलियो बनाएको छ। नयाँ व्यवस्थाअनुसार सभापतिले दिएको मार्गनिर्देशन अवज्ञा गरे संसदीय दलका नेता समेत पदमुक्त हुन सक्ने प्रावधान समावेश गरिएको छ।

संशोधित विधानमा पार्टी सभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत ‘संसदीय दलसँग समन्वय’ लाई वैचारिक तथा राजनीतिक नेतृत्वको महत्वपूर्ण जिम्मेवारीका रूपमा राखिएको छ।

सभापति संसदीय दलको नेता नभएको अवस्थामा संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोण प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक मार्गनिर्देशन दिने अधिकार सभापतिलाई प्रदान गरिएको छ।

विधानअनुसार सभापतिले दिएको मार्गनिर्देशनको पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सबै सांसदहरूको अनिवार्य कर्तव्य हुनेछ।

पार्टीको नीति र निर्णय विपरीत जाने वा सभापतिको निर्देशनको अवज्ञा गर्ने अवस्थामा अनुशासनात्मक कारबाहीस्वरूप संसदीय दलको नेता समेत पदमुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

हाल रास्वपाको संसदीय दलको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहले गरिरहेका छन्। संशोधित विधान कार्यान्वयनमा आएपछि पार्टी सभापति र संसदीय दलबीचको सम्बन्ध थप संस्थागत हुने तथा पार्टी निर्णय कार्यान्वयनमा सभापतिको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।