दुर्गा प्रसाईँको रिहाइको माग गर्दै मोटरसाइकल र्याली
काठमाडौं - मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली निकालिएको छ ।
आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईँको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली निकालेका हुन् ।
उनीहरूले प्रसाईँलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
प्रसाईँलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सोही पक्राउको विरोधमा हिन्दु राज्य नेपाल कायम गरौँ भन्ने मूल नारासहित र्यालीमा सहभागी भएकाहरूले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको सो र्याली भद्रकालीमा पुगेर समापन भएको थियो ।
प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई दिएको अनुमतिपछि हाल प्रसाईं भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा छन् ।
प्रसाईंलाई यसअघि प्रहरीले माघ २३ गते पनि पक्राउ गरेको थियो । त्यसबेला उनी हाजिर जमानीमा छुटेका थिए । निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएर त्यसबेला पक्राउ गरी बयान लिएर छाडेको थियो।
उनलाई माघ ५ गते पनि प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेको आरोप लागेपछि त्यसबेला उनलाई पक्राउ गरिएको थियो ।
यस्तै, उनले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए । त्यसबेला उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो ।
आक्रामक अभिव्यक्तिका कारण प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस