वीरगञ्ज - वीरगञ्ज महानगरपालिका–९ मा आइतबार दिउँसो भएको समूहगत कुटपिटबाट एक प्रहरी जवानको बीभत्स हत्या भएको छ ।

सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसियामाथि केही युवाहरूको समूहले आक्रमण गर्दा उनको ज्यान गएको हो ।

पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकका अनुसार अपरान्हतिर चौरसियामाथि भारी वस्तु प्रहार गर्दै निर्घात कुटपिट भइरहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।

गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

घटना लगत्तै प्रहरीले सक्रियता देखाउँदै घटनास्थलबाटै हत्यामा संलग्न रहेको आशंकामा चारजना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरूको नाम र विवरण भने अनुसन्धान प्रभावित हुन सक्ने भन्दै गोप्य राखिएको छ ।

प्रहरीका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान सुरु भइसकेको छ र हत्याको भित्री कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।