काठमाडौं - चेक बाउन्सको पुरानो मुद्दामा बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले ३ महिनाको जेल सजाय सुनाएको छ।

राजपाल यादवविरुद्ध मुद्दा दायर गर्ने कम्पनीका वकिलका अनुसार दिल्ली उच्च अदालतका न्यायाधीश स्वर्ण कान्ता शर्माको इजलासले तल्लो अदालतको फैसलालाई सदर गर्दै यादवलाई दोषी ठहर गरेको हो।

अदालतले यादव र उनकी पत्नी राधा यादवदुवैलाई उजुरीकर्ताको बाँकी रकम भुक्तानी गर्न आदेश दिएको छ।

घटना सन् २०१० को हो। राजपाल यादवले आफ्नो फिल्म ‘अता, पता, लापता’ निर्माणका लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड नामक निजी कम्पनीबाट करिब ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए। तर, फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भएपछि लगानी डुब्यो र उनी कम्पनीको ऋण चुक्ता गर्न असफल भए।

यादवले पटकपटक ऋण तिर्ने आश्वासन दिए पनि पूरा गर्न सकेनन्। अदालतले समय-समयमा आदेश जारी गरे पनि उनले ती आदेशको पालना गरेनन्। पछि, उनले कम्पनीलाई दिएका सात वटा चेक बाउन्स भएपछि उनीविरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरिएको थियो।

सन् २०१८ मा पहिलो पटक दिल्लीको तल्लो अदालतले राजपाल यादवलाई यसै मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो। सोही वर्ष यो मुद्दा दिल्ली उच्च अदालत पुगेको थियो।यहाँ अदालतले उनको सजाय कार्यान्वयनमा रोक लगायो।