काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अशोभनीय नाराबाजी गर्नेलाई कारबाहीको माग अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार नेकपाको ओली पक्षका अनेमसंघले गृहमन्त्री थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

अनेमसंघले विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालमा राष्ट्रपतिविरुद्ध गाली गलौज भएको भन्दै उनीहरुलाई कानुनी कारबाही गर्नुपर्ने भन्दै गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुलाई कारबाही नगरे आफूहरु कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले बताएकी छिन् ।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्ध अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै कारबाही गर्न माग गरेको हो ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले सो विषयमा ध्यानाकर्षण भएको बताएका छन् ।