काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

 मुख्यमन्त्री गुरुङलाई मंगलबार अपराह्नदेखि सामान्य ज्वरो आएको थियो । ज्वरो आएलगत्तै उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । एन्टिजेनमा पोजिटिभ देखिएपनि पुनः प्रमाणिकरणका लागि पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

 मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा सहभागि भएका थिए । बैठकबाट फर्किए लगत्तै उनलाई ज्वरो आएको सचिवालय श्रोतले जनाएको छ । सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेको तर्फबाट संसदीय दलका नेताका रुपमा मुख्यमन्त्री गुरुङ, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र जनता समाजवादी पार्टि (जसपा) संसदीय दलका नेता हरिशरण आचार्य सहभागि थिए ।

 मुख्यमन्त्री गुरुङका प्रेस संयोजक न्यौपानेलाई पनि ४ दिन अघि कोरोना संक्रमण भएको थियो । आईतबारदेखि मात्र ज्वरो आएका न्यौपानेले शनिबार मुख्यमन्त्रीलाई भेटेका थिए । प्रेस संयोजक न्यौपानेका अनुसार मुख्यमन्त्रीको सचिवालयका सुरक्षाकर्मीबाहेक अन्य ४ जनालाई पनि कोरोना संक्रमण भएको छ ।