काठमाडौं - नेपाल र दक्षिण कोरियाबीच कार्बन वित्त परिचालन, हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण तथा जलवायुमैत्री प्रविधिको विकासमा सहकार्य गर्ने उद्देश्यले महत्त्वपूर्ण सम्झौता भएको छ।

टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का क्रममा दुई देशबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको हो ।

पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको यस सम्झौताले नेपालमा उत्सर्जन न्यूनीकरणका परियोजना विकास, अन्तर्राष्ट्रिय कार्बन बजारमा पहुँच विस्तार तथा जलवायु अनुकूलनका क्षेत्रमा लगानी भित्र्याउने बाटो खोल्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार नेपाल र दक्षिण कोरियाले उत्सर्जन न्यूनीकरणसम्बन्धी परियोजना सञ्चालन गर्नुका साथै अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्सर्जन न्यूनीकरण उपलब्धि एकअर्काबीच हस्तान्तरण गर्न सक्नेछन्।

यसबाट अन्तर्राष्ट्रिय कार्बन वित्त परिचालन हुनुका साथै सार्वजनिक र निजी क्षेत्रको लगानीसमेत प्रोत्साहित हुने विश्वास गरिएको छ।

सम्झौताले नवीकरणीय ऊर्जा, यातायात, उद्योग, भवन, फोहोर व्यवस्थापन, कृषि तथा वन क्षेत्रलाई सहकार्यका प्राथमिकतामा राखेको छ। यी क्षेत्रमा जलवायुमैत्री परियोजना विकास, आधुनिक प्रविधिको प्रयोग र लगानी विस्तार गरिनेछ।