काठमाडौं - भोटेकोशी–त्रिशूली बाढीले तहसनहस पारेका क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारले ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने ठहर गरेको छ। उक्त रकम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय सरकारले गरेको छ।

सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक बजेट अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा सञ्चालन गरिनेछन्।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भइरहेको भन्दै अब पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पनि सोही समन्वयमा अघि बढाइने बताए।

गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि तत्काल खोज तथा उद्धारमा केन्द्रित सरकार अब प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनातर्फ अघि बढ्ने भएको हो।

यसैबीच, सरकारले अत्यावश्यकबाहेकका अवस्थामा हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरण स्थगन गर्ने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार चरण स्थगन गर्ने निर्णय गरिएको हो।

त्यस्तै, लागत अनुमान खुल्न बाँकी रहेका तथा प्राथमिकीकरण हुन नसकेका आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।

बैठकमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बाग्मती, गण्डकी, मधेश तथा कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण तथा पुनर्स्थापनाको काममा सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकले भोटेकोशी–त्रिशूली बाढी तथा मनसुनजन्य विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।