काठमाडौं - नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ (धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन) यही साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले बैंकको आईपीओमा आवेदन दिएका आवेदको भेरीफिकेसन बुधबारसम्म सक्ने र यही साता बाँडफाँड गर्ने तयारी गरेको छ ।

एनआईबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङ हेड रामकुमार महतका अनुसार बुधबारसम्म आवेदन भेरीफाइ गर्ने कार्य सकेर बाँडफाँड मिति तय गरिनेछ । सकेसम्म शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको तर शुक्रबार बाँडफाँड गर्न नभ्याएमा शनिबार बाँडफाड गर्ने तयारी रहेको छ ।

बैंकको आईपीओमा १५ लाखभन्दा बढी आवेदकको आवेदन परेको छ । नियमित सेयर कारोबार हुने दिनमा आईपीओ बाँडफाँड गर्दा मेरो सेयरमा अधिक चाप पर्न गई सेटलमेन्ट प्रभावित हुने भएकोले नेपाल धितोपत्र बोर्डले आईपीओ बाँडफाँड सेयर कारोबार नहुने दिनमा गर्न आग्रह गर्दै आएको छ । यदि, शुक्रबार अथवा शनिबार सेयर बाँडफाँड गर्न नसकेमा एक साता कुर्नुपर्ने भएकोले पनि बैंकको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी भेरीफाइ गर्ने कार्यलाई तीव्रता दिएको छ ।

बैंकले यही माघ २ देखि ६ गतेसम्म आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईंपीओमा कुल १५ लाख २९ हजार ४६० आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता सेयरको लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन कुल माग गरेकोभन्दा २.३९ गुणा बढी आवेदन हो ।

कम्पनीको आईपीओ परेको आवेदनका आधारमा ५० कित्तासम्म माग गरेजति सबैले प्राप्त गर्ने देखिन्छ । ५० कित्ताभन्दा कम माग गर्नेहरुको संख्या पनि रहेकोले सो संख्याको आधारमा थप कति पाइन्छ भन्ने यकिन हुन्छ । जुन बिक्री प्रबन्धकले अन्तिम विवरण तयार गरेरपछि मात्रै यकिन हुनेछ ।