काठमाडौं-यसपटकको निर्वाचनमा मतदान सम्पन्न भएपछि मतपत्र तथा मतपेटिका सुरक्षित रूपमा गणनास्थलसम्म पुर्‍याउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।

अघिल्ला निर्वाचनहरूमा मतपत्र ढुवानीको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मात्र खटिने प्रचलन रहेकामा यस वर्ष सेनालाई प्रत्यक्ष जिम्मेवारी तोकिएको हो।

निर्वाचन आयोग र गृह मन्त्रालयले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षामा थप कडाइ गरिएको जनाएका छन् । फागुन २१ गते तय भएको निर्वाचनका लागि सुरक्षा निकायहरू देशभर सक्रिय भइसकेका छन्।

केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी परिचालन गरिएका छन्। सेनाका अनुसार करिब ८० हजार सैनिक निर्वाचन सुरक्षामा खटिसकेका छन्।