काठमाडौं - गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।

सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका हुन् ।

'तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया,' उनले लेखेका छन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारले हिजो सम्पत्ति सार्वजनिक गरेसंगै सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । 

सम्पत्ति विवरण हेर्दा मन्त्रिपरिषदका सदस्यहरू सम्पन्न देखिएका छन् ।जसमध्ये  गृहमन्त्री गुरुङ पनि एक हुन् । गृहमन्त्री गुरुङले  पेश गरेको विवरण अनुसार उनले आफूसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको जनाएका छन् ।

गुरुङसंग गोरखामा मात्रै २२१ रोपनी जग्गा छ । यो जग्गा आफ्नो पैतृक भएको र हजुरबाको नाममा रहेको गुरुङले जनाएका छन् । यस्तै, चितवनको भरतपुरमा ३० कठ्ठा जग्गा बुवाको नाममा रहेको छ । गुङको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा पनि छ ।

गृहमन्त्रीले विभिन्न कम्पनीमा ४ करोड ३० लाख बराबरको सेयर लगानी गरेका छन् । तीन वटा बैंक खातामा ६२ लाख रूपैयाँभन्दा बढी बचत छ ।

गुरुङले आफ्नो सम्पत्तिको स्रोत पैतृक र व्यवसायीक भएको उल्लेख गरेका छन् ।

सोहिलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि गुरुङले सामाजिक सञ्जालबाटै जवाफ दिएका हुन् ।