काठमाडौं - टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले शानदार पुनरागमन गर्दै पहिलो जित दर्ता गरेको छ।
सोमबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो। नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबर्ट हुरिक्यान्स एकेडेमी १८.३ ओभरमा ११५ रनमै अलआउट भयो। होबर्टका नितेश स्यामुएलले सर्वाधिक ३७ रन बनाए। टिम वार्डले २३, कप्तान निवेथन राधाकृष्णनले २० तथा जेक कर्टियनले १२ रन जोडे।
नेपालका लागि नारायण जोशीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। पवन सराफ र साहब आलमले दुई–दुई तथा विपिन खत्रीले एक विकेट लिएपछि होबर्टको इनिङ्स धराशायी बनेको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको प्रतिस्पर्धात्मक योगफलतयार पारेको थियो।
नेपालका कुशल भुर्तेलले ३९ रन बनाए भने मयन यादवले ३१ तथा कप्तान अनिलकुमार साहले २८ रनको योगदान गरे। लोकश बमले अविजित २० र तृतराज दासले १० रन बनाए। होबर्टका राफ म्याकमिलनले तीन विकेट लिए। मार्कस बीनले दुई तथा निवेथन राधाकृष्णन र ब्राडली होपले एक–एक विकेट लिए।
यो जितसँगै नेपाल ‘ए’ले दुई अंक जोडेको छ। प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपाल आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग नौ विकेटले पराजित भएको थियो।
उता, होबर्ट हुरिक्यान्स एकेडेमीका लागि प्रतियोगितामा यो लगातार तेस्रो हार हो। यसअघि टोली भिक्टोरिया क्रिकेट संघ–११ सँग पाँच विकेट र बंगलादेश हाई–परफर्मेन्स टिमसँग तीन विकेटले पराजित भएको थियो।

.gif)


