प्रतिनिधिसभा विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय
काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले लोकतन्त्रको रक्षाको लागि राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको बैठकको निष्कर्ष छ । संघर्षका लागि विघटनको विपक्षमा रहेका अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने निर्णय पनि भएको छ ।
कांग्रेसका सभापति देउवा बिहीबार कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर लिएर प्रधानमन्त्री पदमा दाबी गरेका थिए । तर, मध्यरातमा दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने भन्दै राष्ट्रपति भण्डारीले खारेज गरेकी थिइन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस