सिन्धुपाल्चोक - अज्ञात समूहले सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा गएराति आक्रमण गरेको छ ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले राति १ः३० बजेको समयमा एक दर्जन बढी मोटरसाइकलमा आएको समूहले ढुंगामुढा गरेर आक्रमण गरेको जानकारी दिए । घटनामा प्रहरी चौकी इन्चार्ज असई सन्तोषकुमार झा र हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाण्डु पठाइएको छ ।

त्यस क्रममा प्रहरीले आत्मरक्षाका लागि चार राउण्ड हवाई फायर गरेको महर्जनले बताए । आक्रमण किन र कसबाट भएको हो भन्नेबारे खुलेको छैन । यो समाचार तयार पार्दासम्म कसैले घटनाको जिम्मेवारी लिएको छैन ।

यसैबीच प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा दुई मोटरसाइकल सहित एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी महर्जनले जानकारी दिए ।