काठमाडौं - सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको अपहरण मुद्धाको जाहेरी लिन काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको छ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्धको उक्त मुद्धा दर्ता गर्न सरकारी वकिलको कार्यालयले इन्कार गरेको जनता समाजवादी पार्टीका नेताहरूले बताएका छन् ।

जनता समाजवादीका शीर्ष नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित जाहेरी दर्ता गर्न मंगलबार सरकारी वकिल कार्यालय पुगेका थिए ।

यसअअघि आइतबार महानगरीय प्रहरी परिसर टेकुले पनि उक्त जाहेरी लिन अस्वीकार गरेको थियो ।

गत बुधबार सांसद यादवलाई खनाल, बस्नेत र श्रेष्ठले अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइ पुर्‍याएका थिए । समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो ।

तर, भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।