काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। ३१ बलको सामना गरेका उनले ३ छक्का प्रहार गरे। त्यस्तै, अलि शेखले २४ र कप्तान रोहितकुमार पौडेलले २३ रनको योगदान दिए।

लुम्बिनीले सुरुवात भने राम्रो गर्न सकेन। ओपनर आसिफ शेख १ रनमै आउट भए भने अर्का ओपनर डार्सी सर्ट २१ रन बनाएर बोल्ड भए।

तेस्रो विकेटका रूपमा निरोशन डिकवेल्ला आउट भए। उनले कप्तान रोहितसँग तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए। त्यसपछि रोहित पनि रनआउट भए। उनले दिलीप नाथसँग चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए।

त्यसपछि सन्दीप जोरा ४ रनमै क्याच आउट भए भने अलि शेख २४ रन बनाएर पेभेलियन फर्किए।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।

अब उपाधि जित्न सुदूरपश्चिमले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ।