सुर्खेत - दैलेखमा श्रीमानले बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमतीको पनि मृत्यु भएको छ। यससँगै आफ्नै परिवारमाथि बञ्चरो प्रहार गर्ने व्यक्तिको आक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेका थिए।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीलाई उपचारका लागि नगर अस्पताल दुल्लु पुर्याइएको थियो। तर, चिकित्सकले बिहान ११ः१० बजे दुवैलाई मृत घोषणा गरेका थिए।
त्यस्तै, गम्भीर घाइते भएकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगरलाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको थियो। अस्पतालमा दिउँसो २ बजे पुर्याइएकी उनलाई चिकित्सकले २ः१० बजे मृत घोषणा गरेका हुन्।
घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको भने प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी हाँडाकोट र इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बञ्चरो प्रहार गर्ने अम्बरलाई नियन्त्रणमा लिनुका साथै घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका क्रममा घटना भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

.gif)


