काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको फाइनलमा टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको हो।
सुदूरपश्चिमले फाइनलका लागि टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। फाबियन एलेनको स्थानमा सैफ जैवलाई प्लेइङ-११ मा समेटिएको छ। लुम्बिनीले भने पहिलो क्वालिफायरमा खेलेको टोलीलाई नै निरन्तरता दिएको छ।
दुवै टोलीको प्लेइङ-११
लुम्बिनी लायन्स: रोहित पौडेल, सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अविशेष गौतम, दिलिप नाथ, किशोर महतो, रुवेन ट्रम्पलम्यान, निरोशन डिकवेल्ला, डार्सी सर्ट र अली शेख।
सुदूरपश्चिम रोयल्स: दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दीपक बोहोरा, सैफ जैव, जर्ज मुन्से, स्कट कुग्लेजिन र थरिन्दु रत्नायके।
फाइनलमा लुम्बिनी लगातार दोस्रोपटक उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। सुदूरपश्चिम भने लगातार तेस्रोपटक फाइनल पुगे पनि पहिलो उपाधिको खोजीमा छ।
यसअघि २०२५ को एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो। त्यसअघि २०२४ को पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई ५ विकेटले हराएको थियो।
लगातार दुई फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक उपाधिको खडेरी तोड्ने अभियानमा छ भने लुम्बिनी लगातार दोस्रो उपाधि जित्दै आफ्नो वर्चस्व कायम गर्ने दाउमा छ।

.gif)


