काठमाडौं,धनगढी - भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटीमा रिहा भएका हुन् ।

जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२०७५ साल फागुन २० गते वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकताका लागि सिफारिस गरेको भेटिएपछि जोशीलाई कार्तिक १४ गते प्रहरीले पक्राउ गरेको थियो ।

नक्कली बुवा बन्ने चौधरी फरार छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।