मध्यरातमा धादिङमा बस दुर्घटना हुँदा १७ को मृत्यु , दर्जनौं घाइते
काठमाडौं - पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
हालसम्म दुर्घटनामा मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ ।
मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
यो स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।
सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत ४० जना भन्दा बढी यात्रुहरु रहेको अनुमान छ ।
घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको जानकारी आएको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।
घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस