विराटनगर - विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैदेखि सुरक्षा टोलीले व्यापक खानतलासी सुरु गरेको छ ।

कारागारभित्र लागुऔषधलगायत अवैध वस्तु राखिएको सूचनाका आधारमा बिहान ४ः३० बजेदेखि खानतलासी थालिएको हो ,।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा सुरक्षाकर्मी परिचालन गरी कारागारभित्र खानतलासी गरिएको हो ।

खानतलासीसँगै कारागारका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीसमेत गरिएको बताइएको छ ।

विशेषगरी आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेका तथा उनलाई कारागारभित्रबाट सहयोग गरिरहेको आशंका गरिएका १५ जनाभन्दा बढी कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

तर, स्थानान्तरणको तयारीबारे जानकारी पाएपछि कारागारको बी ब्लकका कैदीबन्दी आन्दोलित भएका छन्। उनीहरूले स्थानान्तरणको विरोधमा कारागारभित्रै प्रदर्शन र नाराबाजी गर्नुका साथै आगोसमेत बालेर विरोध जनाएका थिए। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

आन्दोलनरत कैदीबन्दीले बी ब्लकभित्र सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैनन्। उनीहरूले भित्रबाट तालाबन्दी गरी नाराबाजी गरिरहेका छन्।