खुमलटारबाट फर्किए ओली पक्षीय नेताहरु, प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाए
काठमाडौं - प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विहीबार १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बालुवाटार स्रोतका अनुसार स्थायी समितिको बैठक ११ बजेबाट सुरु हुने भनिएपनि ओलीले १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् । विहीबार बिहान ओली पक्षीय नेताहरुलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका थिए । बुधबार ललितपुरको एक होटेलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेला भएको थियो । उक्त भेलाको निर्णयअनुसार प्रचण्डले ओली पक्षीय नेताहरुलाई बोलाएर परामर्श गरेका हुन् ।
बिहान ८.३० बजेदेखि सुरू भएको छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी थिए ।
अहिले नेताहरु खुमलटारबाट बाहिरीइ सकेका छन् । आफू पक्षीय नेताहरु खुमलटारबाट बाहिरिएसँगै ओलीले १२ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
दाहाल-नेपाल पक्षले अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा गराउनेगरी तयारी गरेसँगै ओलीको संकट चुलिएको छ । संकटको सामना गर्न ओलीले पाँच विकल्पमा काम गरिरहेको स्रोतले दावी गरेको छ । पहिलो विकल्प, ओली दाहाललाई फकाएर दाहाल-नेपाल गठबन्धन तोड्न चाहन्छन् । विहीबार बिहान खुमलटारमा यसैबारे छलफल भए पनि केही निष्कर्ष ननिस्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ओलीका अन्य विकल्पहरुमा दुईमध्ये एक पद रोज्ने, दिइएको पदमा चित्त बुझाएर बस्ने, संसदीय दलको सामना गर्ने वा केही विकल्प नरहे पार्टी फुटाउन अध्यादेश ल्याउने रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस