काठमाडौं - नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका मध्ये पाँच जनाको परिचय खुलेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको हो ।

नामथर र ठेगाना नखुलेका करिब ४०/४२ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस्तै दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको थियो ।

दुर्घटनापछि बसमा च्यापिएका चार जनालाई दुईवटा क्रेनको सहयोगमा बिहान ६ः१५ बजे उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।