काठमाडौं, एजेन्सी - इजिप्टमा रेल  दुर्घटनामा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ । इजिप्टको मध्य क्षेत्रमा भएको दुर्घटनामा अरु १६५ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको बताइएको छ । रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिन पुगेका थिए ।

आपतकालीन ब्रेक अज्ञात व्यक्तिले सक्रिय पारेका कारण सो रेल अर्को रेलसँ ठोक्किएर दुर्घटना भएको इजिप्टका रेलवे अधिकारीले बताएका छन् ।

राष्ट्रपति अब्दुल फतह अल–सिसीले संलग्न व्यक्तिलाई कडा सजाय दिने बताएका छन् । राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका एउटा रेल दक्षिणी शहर लुसोरबाट भूमध्य सागरमा रहेको बन्दरगाह एलेक्जान्ड्रिया तथा अर्को रेल राजधानी कायरोबाट दक्षिणी शहर अस्वानका लागि गुडेको बताइएको छ ।