काठमाडौं - वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारले दुई मन्त्रालयको सहकार्यमा विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले युवा, श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रण र सुरक्षित वैदेशिक रोजगारीबारे नागरिकलाई सुसूचित गर्न विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिएकी हुन् ।

गौतमका अनुसार राजनीतिमा प्रवेश गरेदेखि नागरिकबाट सबैभन्दा बढी सुनिएका गुनासामध्ये वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि एक हो ।

यस क्षेत्रको सुधारका लागि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको नेतृत्वमा नीतिगत तथा प्रक्रियागत सुधारका काम भइरहेको उनले बताइन् । तर, प्रणाली सुधार गरेर मात्रै ठगी नियन्त्रण सम्भव नहुने भन्दै नागरिकलाई सही प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराउनुपर्नेमा उनले जोड दिइन् ।

‘प्रणाली सुधारेर मात्र पुग्दैन, नागरिकलाई सही प्रणालीबारे सुसूचित गराउनु पनि उत्तिकै आवश्यक छ,’ मन्त्री गौतमले भनिन् ।