एजेन्सी - अमेरिकाको  न्युजर्सी शहरमा गएराति(नेपाली समयअनुसार) भएको गोली हानाहानमाएक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टीवन फुलपका अनुसार घटनामा अन्य दुई प्रहरी समेत घाइते भएका छन् ।

शहरको ग्रीनविले इलाकामा प्रहरी र हतियारधारीबीचकम्तिमा १ घण्टासम्म दुईतर्फी गोली हानाहान भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले  जनाएको छन् ।

जर्सी शहर हडसन नदीको पारितर्फ रहेको छ । हडसनको वारितर्फ न्यूयोर्क सहर  छ । यो गोलाबारी कसले र किन गरेको भन्ने  खुलेको छैन। अधिकारीहरुले  आतंकवादी हमला भने नभएको अनुमान गरिरहेका छन् ।

स्थानीय मिडियाका अनुसार गोलाबारीको सुरुवात एक पसलबाट भएको थियो । त्यहाँ दुई संदिग्ध व्यक्तिले आफूलाई लुकाएका थिए । मारिएका प्रहरीकर्मी ३९ वर्षका जोसेफ सील्स हुन् । उनी पछिल्लो १३ वर्षदेखि जर्सी प्रहरीको सेवामा रहेका थिए ।

स्थानीय समयअनुसार दिउँसो १२ बजे त्यहाँ गोलाबारी भएको हो । ती  प्रहरी अधिकारी संदिग्ध व्यक्तिलाई पक्राउको प्रयासका क्रममा मारिएका हुन् । ती व्यक्तिहरु शुरुमा ट्रकमा चढेर भागेका थिए र एउटा सुपरमार्केटभित्र छिरेर प्रहरीमाथि गोली चलाएका थिए । प्रहरीसँग थुप्रै राइफल र गोली पनि थियो । पसलको भित्र तीन व्यक्ति मारिएका थिए ।