काठमाडौं - विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर, उपमेयरसहित पार्टीले अघि सारेका उम्मेदवारहरुको मनोनयन दर्ता गरेको छ। सो पार्टीका तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन दर्ता गरेका हुन्।

दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मध्यान्ह उनीहरूले मनोनयन दर्ता गराएका हुन्। मेयरकी उम्मेदवार समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्।

त्यस्तै, उपमेयरमा अघि सारिएकी कीर्ति पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षामा स्नातकोत्तर गरेकी ६२ वर्षीया कीर्ति अन्तर्राष्ट्रिय जेसीजको दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्।