काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारले जनताको स्वास्थ्यलाई बेवास्ता गरेको बताएका छन् ।

शनिवार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौती प्रस्ताव प्रस्ताव राख्दै सांसद रिजालले विदेशमा जनताका कोरोना भाइरस संक्रमणपछि अलपत्र परेकालाई उद्धारमा ध्यान नदिएर सरकारले कार्पेट किन्न थालेको बताए ।

‘नेपालीहरू कसरी कोरोनाबाट उम्कने भन्नेमा छन्। सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन्,’ उनले भने। राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट व्यवस्थापन गर्न लागिएको खबरहरूप्रति लक्षित गर्दै सांसद रिजालले उक्त कुरा भनेका हुन्।

उनले अर्थमन्त्रालयको चालू खर्च २५ अर्बबाट घटाएर गत बर्षझै ८ अर्बमा राखियोस भन्ने खर्च कतौटी प्रस्ताव गरेका छन् ।

अहिले कोरोना संक्रमण ३ हजार पुगेको र १० हजार कट्छ भन्ने चिन्ता रहेको बताए । उनले बोर्डरमा मान्छे आइरहेको, उनीहरुको स्वास्थ्य परिक्षण राम्रोसँग गरिएन भने एकजनामा संक्रमण भए सारा क्वारेन्टाइन र गाउँमा बृद्ध, दीर्घरोगीलाई फैलियो भने कल्पना गर्ने स्थिति नभएको बताए ।

उनले भने, ‘अहिले साना साना कुरामा बजेट छुट्याउन आवश्यक छैन । अर्थतन्त्र संकुचित हुँदैछ । यो वर्ष आर्थिक बृद्धि हुने कुनै संकेत देखिँदैन । उत्पादन नबढ्ने र बाहिरबाट आउने रेमिट्यान्समा २० प्रतिशत कमी हुने देखिएको र खर्चयोग्य आम्दानी ५ प्रतिशतले घट्ने चिन्ता छ । असार मसान्तसम्म के हुन्छ भनेर अनुमान गर्न नसक्ने अर्थमन्त्रालयले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ ।’