प्रतिनिधिसभा चुनावका लागि ७७ मुख्य निर्वाचन अधिकृत नियुक्त
काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो। उनीहरूलाई न्याय परिषद्को परामर्शमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
त्यस्तै, आयोगले ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ। उनीहरूलाई न्याय सेवा आयोगको परामर्शमा खटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि औपचारिक रूपमा काम सुरु गर्नेछन्।
सोही दिनदेखि सम्बन्धित निर्वाचन क्षेत्रहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक कामकाज अघि बढाइने आयोगले जनाएको छ।
आयोगका अनुसार अधिकृतहरूको नियुक्तिसँगै निर्वाचन व्यवस्थापन, उम्मेदवारी दर्ता, आचारसंहिता कार्यान्वयन र मतदान तयारीका कामहरू तीव्र गतिमा अघि बढ्नेछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस