काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेसँगै नेपाली कांग्रेस औपचारिक रुपमा फुटेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ ।

भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए ।

तर, थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नै पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो । उनीहरूले उक्त निर्णयमा फरक मत राखेका थिए ।

विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।