काठमाडौं - ललिता निवास प्रकरणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतालाई उन्मुक्ति तथा अन्यलाई  मुद्दा चलाउने निर्णयको विरोधमा कांग्रेसका भ्रातृसंस्थाहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई दोषी बनाउँदै  मुद्दा चलाइएको विरोधमा कांग्रेसका भ्रातृ संस्थाले प्रदर्शन गरेका हुन्।

नेविसंघको आयोजनामा आयोजित विरोध कार्यक्रममा नेपाली कांग्रेसका अन्य शुभेच्छुक र भातृ संगठनहरुको पनि सहभागिता थियो । सहभागीहरुले ‘अरु केही जान्दैनौं, नेकपा अख्तियार मान्दैनौं’ भन्दै नाराबाजी गरेका थिए ।

सहभागीहरुले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरे, ‘सकिन्छ सच्चिनुहोस्, होइन भने सक्किनुहोस् ।’ प्रदर्शनकारीहरुले रातो झन्डा बोकै सबै माफ, फरक झन्डा बोके जेल जानुपर्छ ?’

पार्टी नेतृत्वले  सानेपामा बिहिबार  भ्रातृ संस्थालाई अख्तियारको प्रतिशोध र बदनियतपूर्ण कदमविरुद्ध सडकमा उत्रन निर्देशन दिएसँगै उनिहरु विरोधमा उत्रीएका हुन् ।