काठमाडौं - प्राणघातक नोवल कोरोना भाइरससँग संघर्ष गरिरहेको छिमेकी मित्रराष्ट्र चीनलाई विपदको अवस्थामा सहयोगको हात बढाउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँगको प्रश्नोत्तरका क्रममा सांसदहरूले मित्रराष्ट्रको हैसियतले चीनलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा सांसद खगराज अधिकारीले यति ठूलो विपद्को अवस्थामा समेत व्यवस्थापन गर्ने चीनलाई सहयोग गर्नुपर्ने बताए । ‘विपद्को अवस्थामा नेपाल सरकारले सहयोगका लागि ठूलो संख्यामा मेडिकेटेड मास्क चीनमा पठाउन सक्छ, यसतर्फ पहल गरोस्,’ सांसद अधिकारीले भने । 

नेमकिपा सांसद प्रेम सुवालले बिरामीका लागि विशेष स्वास्थ्य सेवा उपलब्ध गराएकोमा चीनको प्रशंसा गरे । ‘यो रोगविरुद्धको सफलता हाँसिल गरेमा ठूलो उपलब्धि हुनेछ । कम्बोडियाले चीनमा कुनै उडान रद्द नगर्ने बताएको छ । संकटको साथी नै सच्चा साथी हो, संसारका सबै साथीसँग मिलेर नेपाल सरकारले कोरोनाविरुद्ध लड्ने योजना बनाएको छ, छैन रु’ उनले प्रश्न गरे ।

त्यसअघि संसद्को शून्य समयमा नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कोरोनाबाट प्रभावित बनेको चीनलाई सहयोग गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

मंगलवारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित तबरले स्वदेश फर्काउने तयारीमा सरकार लागिरहेको बताएका थिए । उनले नेपालमा १३ जनामा परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण नभेटिएको जानकारी गराए ।